अर्को सूचना नआउँदासम्म दाङमा ’स्मार्ट लकडाउन’

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दाङमा ’स्मार्ट लकडाउन’ गर्ने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) को बैठकले आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो । यो निर्णय अर्काे सूचना नभएसम्मका लागि लागू हुनेछ ।

दाङमा स्मार्ट लकडाउन अन्तर्गत होटल, रेस्टुरेन्ट, पार्टी–प्यालेसहरू बेलुकी ७ बजे सम्म मात्र खाल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ । साथै माघको अवसरमा कुनै पनि मेला, महोत्सव सञ्चालन नगर्ने निर्णय भएको छ ।

यस्तै दाङमा आउँदो माघ ७ गतेदेखि खोप कार्ड भए मात्रै सार्वजनिक ठाउँमा प्रवेश गर्न पाइने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक ठाउँहरू– कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई मार्ग लगायतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागू गर्ने निर्णय भएको हो ।

साथै दाङका पालिकामा बढ्ने कोरोना सङ्क्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिइ पालिकाले थप कडा लकडाउन गर्न सक्ने निर्णय पनि भएको प्रजिअ रेग्मीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?