खेलाडीमाथी गरिएको कारवाही क्रिकेट विकासको बाधक बन्न सक्छ : सिप्यान

राष्ट्रिय क्रिकेट खेलाडीको सेन्ट्रल कन्ट्रयाकटरको वर्गीकरणको बिषयलाई लिएर क्रिकेट संघ नेपालमा देखिएको विवादले क्रिकेट जगतमा नै ठूलो क्षती पुर्याउने क्रिकेट खेलाडी संघ नेपाल ( सिप्यान ) ले बताएको छ ।
क्यानले खेलाडीहरुलाई अनुशासन उल्लङ्गन गरेको भन्दै गरेको कारवाही प्रति ध्यानाकर्षण गराउँदै सिप्यानले उक्त कुरा बताएको हो ।
सिप्यानका अध्यक्ष डाक्टर मनिष राज पाण्डे र नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा संघका महासचिव पारस खड्काद्धारा जारी विज्ञप्तिमा राष्ट्रिय खेलाडीका कारण नेपालले विश्व क्रिकेट जगतमा बिषेश पहिचान बनाएको तर क्यानले खेलाडीहरुको भावना तथा आवाजहरु नसुनेर उल्टै उनिहरुमाथी कारवाही गरेको बताइएको छ ।
सिप्यानद्धारा जारी विज्ञप्तिमा भनिएको छ “खेलाडीहरुमाथी गरिएको कारवाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ ।” साथै सिप्यानले क्रिकेट खेलाडीहरुको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत र त्रुटीरहित बनाउन मागसमेत गरेको छ ।
‘वर्गीकरणजस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहोर्याउन जरुरी देखिन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?