टी–२० विश्वकप एसिया छनोट : पहिलो खेलमा नेपाल हङकङसँग पराजित

यूएईमा आजबाट जारी आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग पराजय ब्यहोरेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरु भएको खेल हङकङले ६ विकेटले आफ्नो पक्षमा पारेको हो ।
नेपालले दिएको १ सय ५ रनको झिनो लक्ष्य हङकङले दुई ओभर बाँकी छदै ४ विकेटको क्षतिमा भेटाएको हो । नेपालले निर्धारित बिस ओभरको खेलमा ३ विकेटको क्षतीमा १ सय ४ रन जोडेको थियो ।
नेपालका लागि सिता मगर र इन्दु बर्माले ७१ रनको साझेदारी गर्दा सिता ४० रन बनाएर पेबिलियन फर्किन । यस्तै, इन्दुले नटआउट ३१ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो पदर्शन गर्न सकेनन् । टस हारेर पहिले ब्याडिङ्गको निम्तो पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा ओपनर कबिता कुँवरलाई शुन्य रनमा तथा सात ओभर पाँच बलको खेल सकिँदा २४ बल खेलेर ४ रन जोडेकी काजल श्रेष्ठलाई दोस्रो विकेटको रुपमा गुमाएको थियो भने अन्तिम बल खेल्न मैदान उत्रेकी कप्तान रुविना क्षेत्रीले २ रन जोडेकी थिइन् ।
यस्तै, बलिङ तर्फ नेपालका लागि कबिता कुँवर, सिता मगर र सबनम राईले समान १ विकेट लिए । उता हङकङ जितका लागि मारिको हिलले नटआउ सर्वाधिक ४४ रन जोडिन् । नतासाले १६, क्यारी क्यान १७, सञ्जिन ७ तथा इमा लाईले १३ रन जोडे ।
नेपाललाई सस्तैमा रोक्न हङकङकी क्यारी छन र आईक्यूर सहरले समान १ विकेट हात पारे । नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्ने छ भने बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग खेल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?