दाङमा साथीसाथीबिच कुटाकुट एकको मृत्यु, एकलाई उपचारकालागि भारत पठाईयो

दाङमा झडप पर्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । गएराति करिब साढे २ बजेको समयमा साथीसाथीबिच झडप पर्दा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसिपुर नगरपालिका वडा नम्बर ४ का शंकर डाँगी रहेका छन् । साथीहरु मिलेर मादक पदार्थ सेवन गरेको र करिब ६ महिना अघिको विवादलाई लिएर तीन जना साथीले दुई जनालाई कुटेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्ले बताएअनुसार पाँच जना मिलेर मापसे गरेका थिए । मापसे गर्नेहरुमा सोही ठाउँका विनय मगर, खिम बहादुर मगर, मृतक शंकर डाँगी र घाइते टोप बहादुर पुन रहेको काफ्ले बताए ।
सँगै भएका अर्का साथी रेशम थापाले भने मापसे नगरेको बताइएको छ । मृतक डाँगी र घाईते भएका पुन भर्खर मात्र डाँका मुद्दामा धरौटीमा छुटेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले जानकारी भने बिहान करिब ४ बजे पाएको काफ्लेको भनाई छ ।
घटनामा संलग्न रहेको तीन जना फरार रहेको र उनिहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका पुनलाई घाईते जिल्ला अस्पताल कोहलपुर हुँदै भारतको लखनौ रिफर गरिएको एसपी काफ्लेले बताए ।
घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?