कम्युनिष्टहरु एक भएर आए पनि आउँदाे निर्वाचनमा जित्ने गरि नयाँ नेतृत्व चयन गर्नुपर्छ

काठमाण्डाै ।  

नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्टहरु एक भएर आए पनि आउँदाे निर्वाचनमा जित्ने गरि कांग्रेसले नयाँ नेतृत्व चयन  गर्नुपर्ने बताउनुभएकाे छ ।

शनिबार पार्टीको काठमाण्डाै महानगरपालिका अधिवेशनको उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावी समेत गर्नु भयो ।

नेता थापाले भन्नुभयो, ‘कोहीसँग मिलेर होइन सात कम्युनिष्ट एक भएर आयो भने पनि जित्ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ । त्यसका लागि कां‌ग्रेसलाई छोटो समयमा सुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ ।’

यस्तै उहाँले देशलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्‍याउनु भयो ।

यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताउनु भएको छ । ​उहाँले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भयो ।

नेता सिंहले भन्नु भयो, ‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धिकरण गर्न र सुदृढ गर्न । अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ । अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ । नत्र भने राम्रो हुँदैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?