सुन झाक्रि गुफा ओझेलमा,आन्तरिक पर्यटकको सङ्ख्या भने बढ्दो

स्याङ्जा।

वालिङ नगरपालिका–२ धौखोलामा अवस्थित सुन झाक्रि र लटे झाक्रि गुफा प्रचारप्रसार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ ।

परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त प्राकृतिक गुफाको उचित संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माणको कामसमेत नहुँदा जीर्ण समेत बन्दै गएको छ ।

सुन झाक्रि र लटे झाक्रि गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना रहेको अधिकार सम्पन्न बागमती एकिकृत बिकास समिती गुहेश्वरी फाटका पूर्व बोर्डअफ डाइरेक्टर तथा बागमती सर सफाइ अभियानका अभियान्ता साथै कांग्रेस स्थानिय युवा नेता पदमपाणी रेग्मीले बताउनुभयो । उहाले भन्नुभयो प्राकृतिक हिसाबले सुन्दर तथा ऐतिहासिकस्थल सुन झाक्रि र लटे झाक्रि गुफा संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।

No description available.

उक्त गुफामा बिभिन्न्न किसिममा भगवानको मूर्ति र निशानासमेत रहेको छ । पुर्खाले गुफामा झाक्रि देवताको पूजा गर्दै आईरहेको र सोही ठाउँमा नागसमेत रहेको रेग्मी बताउछन । उत्तरतर्फ फर्केको पहरामा अवस्थित गुफा वरिपरि ससाना गुफामा विभिन्न देवीदेवताको स्वरूप देखिने प्रतिमासमेत देख्न सकिने स्थानिय खिमानन्द रेग्मीले बताउनुभयो ।

प्राकृतिक गुफाको दायाँतर्फबाट ओरालो झर्ने क्रममा सबैभन्दा पहिले ठुलो पहाड देखिन्छ सोही पहाडको फेदमा गुफा भेटिन्छ । यहाँ विभिन्न किसिमका धार्मिक साधकले साधना गर्ने गरेको स्थानीय बासिन्दा बताउछन। ढुङ्गैढुङ्गाले बनेको प्राकृतिक पहाराको फेदमा रहेको मुल गुफाभित्र गाईको थुन, शिव पार्वतीको मूर्ति, नाग नागिनी लगायत सुन जस्तो देखीने धातु र प्राकृतिक हिसाबले बनेको शिवको आकृति, शिव लिङ्ग र पार्वतीको मूर्तिमा स्तन, सन्ख घण्टसमेत स्पष्ट देख्न सकिन्छ ।

गुफाको आसपासमा हनुमानले उचालेको हिमालय पर्वत, कृष्णको बाँसुरी, जोर मादल, कामुधेनु गाईको दूध, बोधिचित्तको दाना, गुरु रिम्पाचेको पदचिह्न, जलविहार गर्ने कर्कटको आसनजस्ता आकृति हेर्न पाइन्छ । यी सबै प्राकृतिक शिलाको दैविक चिनारी रहेको स्थानिय शिक्षक उमाकान्त रेग्मीले बताउनुभयो ।

सुन झाक्रि र लटे झाक्रि रूपमा चिनिने उक्त गुफाकोभित्र शिवजीले धारण गर्ने गोमन सर्पको फना खोलेको शिर छ । यस्तै पानीको मुहानबाट नागको अर्को आकार देख्न सकिन्छ । गुफाभित्र केही अप्ठ्यारो तर, प्वालबाट हेर्दा नागेलुम लुकेर बसेकी छन् । कुनै बेला महादेव शिव कैलाश पर्वतबाट बृखाशुर नामक राक्षससँग भाग्दै आउँदा गुफामा एक रात लुकेर बसेको किंवदन्ती छ ।

सुन झाक्रि र लटे झाक्रि गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपनी गुफा वरिपरि पदमार्ग नहुँदा पदमार्ग निर्माण गर्न सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्छ । नगरपालिकाले बजेट विनियोजन गरेर धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको सुन झाक्रि र लटे झाक्रि गुफा स्तरोन्नतिका लागि पदमार्ग निर्माण गर्न आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?